पुन: नागरिकता लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बनेका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेका छन्।
आइतबार साँझ लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेको रास्वपा सचिवालयले जनाएको छ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार अदालतको निर्णयपछि उपनिर्वाचनबारे छलफल गर्न र गृह मन्त्रालय नछोड्ने पार्टीको निर्णय जानकारी गराउन सभापति लामिछाने त्यहाँ पुगेका हुन्।
अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन्। नागरिकता लिएपछि आइतबारै बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको हो।
लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ। बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै रास्वपा प्रवक्ता ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्ने बताएका थिए।
‘यो समस्या रास्वपालाई परेको हो। अन्य सत्ता घटकमा परेको होइन। बाँडफाँटका क्रममा हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउनु पर्ने अडान गठबन्धनमा राख्ने र यसका लागि संवादको जिम्मेवारी सभापतिलाई नै दिने निर्णय भएको छ,’ ढकालले भने।
चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनका लागि सूचना जारी गरिने पनि उनले बताए। पार्टीभित्र कुनै पनि समस्या नरहेको भन्दै ढकालले संयम हुन कार्यकर्तालाई आग्रह गरेका छन्।
रास्वपाको बैठकले संगठन विस्तारको कार्यविधि पारित गर्दै संगठन विस्तार कार्यतालिका माघ २१ देखि पुनः सुरू गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्ड भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्। लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रचण्डले आफैंसँग राखेका छन्।
‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।
सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट छ।