लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्ने भएका छन्।
उनी कांग्रेस-एमाले-जसपा गठबन्धनबाट राष्ट्रिय सभा उम्मेदवार बन्न लागेका हुन्।
ठाकुर उम्मेदवारी दर्ताका लागि जाँदै गरेको उनको सचिवालयले जनाएको छ।
'उहाँ उम्मेदवार हुने निश्चित भयो। उम्मेदवारी दर्ताका लागि जाँदै हुनुहुन्छ,' ठाकुरको सचिवालयले भन्यो।
राष्ट्रिय सभाको रिक्त १८ सदस्यका लागि कांग्रेस, एमाले र जसपाबीच क्रमशः ९,८ र १ सिट भागबन्डा गर्ने सहमति भएको थियो।
सोही अनुसार लोसपा अध्यक्ष ठाकुर आफैले राष्ट्रिय सभा सदस्यमा उम्मेदवार दिन लागेका हुन्।
लोसपाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग एकता गरिसकेको छ। पार्टीको नाम जसपा नेपाल नै कायम रहेको छ। यद्यपि निर्वाचन आयोगमा भने दुइटै पार्टी छुट्टाछुट्टै दर्ता छ।
गठबन्धनमा रहेका कांग्रेस र एमालेबाट पनि उम्मेदवारको टुंगो लागिसकेको छ।
कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्। बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।
एमालेबाट कोशीमा रोशनी मेचे र सोमनाथ पोर्तेल उम्मेदवार बन्दै छन्। मधेसबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री उम्मेदवार बन्ने भएका छन्।
कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने भएकी छन्।