सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन्।
बिहिबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका समस्याको चाङ बढ्दै गइरहेकाले समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताए।
सभामुख घिमिरेले विगतमा कतिपय सांसदको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिए।
उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए।
उनले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताए।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १३:३१:००