प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ।
रास्वपाका मन्त्रीले राजिनामा दिएपछि थप तीन मन्त्रालय खाली भएका छन्। रास्वपाले आइतबार सरकार छोडेको छ भने सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
१० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन्।
यसअघि सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९, १०:५१:००