निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।
यही चैत ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका थिए।
आज शितल निवास पुगेर प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले स्थानीय तहदेखि उपराष्ट्रपति निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका थिए।
साथै उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकायलाई धन्यवाद दिएका छन्।
उपराष्ट्रपति यादवले सोमबार शपथ लिने कार्यक्रम छ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १६:४५:००