नेपाली कम्युनिस्ट पार्टीका नेता पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताएकी छन्।
बिहीबार विविध क्षेत्रका प्रेरणादायी महिलाहरूको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजेको अवस्थामा कोही पनि नरहने स्थिति रहेको भुसालको भनाइ छ।
उनले वामपन्थीहरूबीच एकता गरेर अघि बढे मात्रै वाम आन्दोलनको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि हुने जिकिर गरिन्।
उनले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणी गरिन्।
उनले खादा–टीका लगाएर पार्टी नेतृत्व पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति देखापरेको भन्दै यसलाई राजनीतिक विकृतिका रूपमा व्याख्या गरिन्।
भुसालले नेपालमा महिला आन्दोलनको उपलब्धि ठूलो संघर्षको परिणाम भएको उल्लेख गर्दै अहिले राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक र सुरक्षा क्षेत्रमा देखिएको महिला सहभागिताको पछाडि दीर्घ संघर्ष रहेको बताइन्।
उनले भनिन्, ‘आज राजनीति एकदमै सस्तो भएको छ। नोपलको महिला आन्दोलनको बारेमा यहाँ उपस्थितहरूको एउटा छ, यहाँ उपस्थित नभएकाहरूको संंघर्ष अर्कै छ। अहिले खादा लगाएर, टीका लगाएर पनि राजनीतिक दलको नेता हुने पार्टी नेतृत्वमा पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति छ। यो त्यागको ठाउँमा त्यसलाई तुलना गर्ने हो भने त्यो त विकृति हो जस्तो लाग्छ। अहिले नेपालमा राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक क्षेत्रमा, सुरक्षा क्षेत्रमा सबैतिर जुन ढंगको महिला सहभागिता छ त्यसको पछाडि ठुलो संघर्ष छ।’
उनले अगाडि भने, ‘हामीले गणतन्त्र स्थापना गरेकै कारणले पहिलो महिला राष्ट्रपति पनि पायौँ। र संघीयता र समावेशिताका कारणले सबैभन्दा उत्पीडित वर्ग पनि नीति निर्माणको तहमा पुग्ने स्थिति बनेको छ। र चुनौती पनि त्यसैगरी खडा भएको छ। त्यसैले एकचोटि हामीले समग्र आन्दोलनलाई एउटा धारमा जोड्ने कुरा र यो पछिल्लो परिणामले चाहिँ अब कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै बस्छौँ भन्ने स्थितिले हामी कोही पनि नरहने स्थिति हो। अब हामी महिलाले पुरूषहरू कति दिन्छन् भनेर होइन कि अब नेपालको आवश्यकता वामपन्थीहरूबीचको एकता गरेर गयौँ भने मात्रै हाम्रा त्याग तपस्या र बलिदानको औचित्य पुष्टि गर्ने महत्वपूर्ण मोडमा आएका छौँ।’
उनले गणतन्त्र स्थापनापछि नेपालले पहिलो महिला राष्ट्रपति पाएको स्मरण गर्दै संघीयता र समावेशिताका कारण उत्पीडित वर्ग नीति निर्माण तहसम्म पुग्ने अवस्था बनेको बताइन्। —न्युज एजेनसी नेपाल