चीनमा उपचाररत् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन्।
पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ। नेता पुनले संसदका झन्डै दुई तिहाइ सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए।
दुबै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी सिर्जना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए।
‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन,’ पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन्।’
देउवासँग पुनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरे।
उनले प्रमुख दुई नेता गठबन्धनका दलहरू मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे।
‘हामी सँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ,’ पुनले देउवालाई भने, ‘यसलाई सफल पार्न दुई नेता र पार्टीले देश र जनताको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो बनाएर अगाडि जानुपर्यो।’
जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरूले आश्वस्त तुल्याउने बताए। ‘ढुक्कले यो गठबन्धन पाँच वर्ष जान्छ। तपाईंहरू नआत्तिनुस्। हामी दुई नेताबीच आपसमा विश्वासको वातावरण बनाउँछौं,’ देउवाले भने।
प्रचण्ड र देउवा दुबैले पुनको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन्।
स्वास्थ्यमा निकै सुधार
पुन जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुन व्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए। ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मतदातासमक्ष मत माग्न समेत जान सकेका थिएनन्।
उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्यमा चामत्कारिक सुधार भएको छ। उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ। सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन्। तर, पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ। स्वास्थ्यमा चामत्कारिक सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन भनेको परिवारका सदस्यहरूले जानकारी दिएका छन्। पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन्।