कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण गर्नु पर्ने आन्दोलनको अगुवाइ गरिरहेका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ लिम्बू लगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू मंगलबार साँझ रिहा भएका छन्।
प्रदेशको नाम खारेजीको माग राख्दै विराटनगरस्थित देवकोटा चोकमा आन्दोलन क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा जेठ १४ गते आइतबार २७ जना पहिचानवादी नेता तथा कार्यकताहरू पक्राउ परेका थिए।
उनीहरू पक्राउ परेको १८ घन्टापछि रिहा भएका छन्।
रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई छन्।
यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरूङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन्।
उनीहरूले प्रदेशको नाम पहिचानको आधारमा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिले बुधबार पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन गर्ने तर आमहड्ताल फिर्ता लिएको बताएको छ।
पहिचानवादी नेता तथा कार्यकताहरू रिहा भएपछि आमहड्तालको कार्यक्रम फिर्ता लिए पनि शान्तिपूर्ण आन्दोलन जारी रहेको पहिचानवादी नेता अर्जुन जम्नेली राईले जानकारी दिए।
‘पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरू वार्तापछि रिहा भएका छन्,’ उनले भने, ‘तर कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण नभएसम्म आन्दोलन भने जारी रहन्छ।’
आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै संघर्ष समितिले प्रहरी दमनबाट १५० भन्दा बढी घाइते भएको जनाएको छ।