अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाएपछि उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा फरक राजनीतिक पहिचान बनाउन थालेका छन्।
सन् २०२८ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने सम्भावनालाई ध्यानमा राख्दै उनले आफ्नै एजेन्डा अघि सार्न थालेका हुन्।
मध्यावधि चुनावको प्रचारका अन्तिम दिनमा भान्सले ट्रम्पको नाम र उनका नीतिबारे कम बोले। बरु आर्थिक राष्ट्रवाद, विदेश नीतिमा संयमता र सार्वजनिक सुरक्षाजस्ता आफूले प्राथमिकता दिँदै आएका विषयमा बढी जोड दिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सेप्टेम्बरमा रिपब्लिकन पार्टीको सम्मेलनपछि भान्सले गरेका आधा दर्जन भाषणको समीक्षा गरेको छ।
उनले चुनावी अभियानमा पार्टी र ट्रम्पका नीतिबारे कम र आफ्ना मुद्दालाई प्रमुखताका साथ उठाएको पाइएको छ। ट्रम्पको लोकप्रियता घट्दै जाँदा त्यसको असर रिपब्लिकन उम्मेदवारमा पनि पर्न थालेपछि भान्सले इरान युद्ध र आप्रवासी निष्कासनजस्ता ट्रम्पका प्रमुख नीतिबारे बोल्न छाडेका थिए।
रोयटर्सका अनुसार भान्स र उनका सल्लाहकारले यो रणनीति योजनाबद्ध रूपमा बनाएका थिए। उनीहरूले आर्थिक राष्ट्रवाद, विदेश नीतिमा संयमता र सार्वजनिक सुरक्षाजस्ता विषयले मतदातालाई आकर्षित गर्न सक्ने ठानेका थिए।
४२ वर्षीय भान्सले सन् २०२८ मा राष्ट्रपति पदको चुनाव लड्ने घोषणा गरिसकेका छैनन्।
ट्रम्पले पनि उनलाई आफ्नो उत्तराधिकारीका रूपमा समर्थन गरेका छैनन्। तर रिपब्लिकन पार्टीभित्र उनी आगामी चुनावका सम्भावित उम्मेदवारमध्ये प्रमुख दाबेदार मानिन्छन्।
भान्ससामु भने एउटा चुनौती छ।
उनले ट्रम्पका समर्थकलाई सँगै राख्नुपर्नेछ, तर ट्रम्पसँग जोडिएका विवादबाट पनि आफूलाई अलग देखाउनुपर्नेछ।
बुधबार भान्सले सामाजिक सञ्जालमा मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुको कारणबारे आफ्नो धारणा सार्वजनिक गरे।
उनले इरान युद्धलाई पराजयको एउटा प्रमुख कारण बताउँदै युद्ध चाँडै अन्त्य गर्नुपर्ने, महँगी नियन्त्रणमा ध्यान दिनुपर्ने, विदेश नीतिको पुनरावलोकन गर्नुपर्ने र इजरायलसँगको सम्बन्धबारे पुनर्विचार गर्नुपर्ने बताए।
यो उनको इरान युद्ध अन्त्य गर्नुपर्ने पक्षमा आएको अहिलेसम्मकै स्पष्ट सार्वजनिक अभिव्यक्ति थियो।
ट्रम्पले भने इरान युद्धको बचाउ गर्दै आएका छन्।
उनले युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा चुनावमा असर परेको स्वीकार गरे पनि आफूले युद्ध सुरु गर्ने निर्णय गलत नभएको बताएका छन्।
ट्रम्पसँग दूरी बढाउन खोजेका हुन्?
भान्सको अभिव्यक्तिलाई ट्रम्पसँगको सम्बन्ध तोड्ने प्रयासका रूपमा भने ह्वाइट हाउसका अधिकारीहरूले व्याख्या गरेका छैनन्।
ह्वाइट हाउस र भान्सको सञ्चार टोलीसँग परिचित तीन व्यक्तिले रोयटर्सलाई बताएअनुसार भान्सले उक्त पोस्ट गर्नुअघि नै ह्वाइट हाउसकी तत्कालीन प्रमुख स्वाजी विल्सलाई जानकारी दिएका थिए।
ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरसहित केही रिपब्लिकन नेताले भान्सको अभिव्यक्तिको समर्थन गरेका छन्।
रिपब्लिकन रणनीतिकार तथा अमेरिकी संसद्का पूर्वसभामुख जोन बोएनर र पल रायनका पूर्वसल्लाहकार माइकल रिचीले भान्सको अभिव्यक्तिले उनलाई ट्रम्पपछिको सम्भावित नेताका रूपमा थप चर्चामा ल्याएको बताएका छन्।
उनका अनुसार भान्सले उपराष्ट्रपतिको पदबाट प्राप्त सार्वजनिक प्रभाव प्रयोग गरेर रिपब्लिकन पार्टीभित्र आगामी राजनीतिक बहसको दिशा तय गर्न खोजेका छन्।
‘यसलाई ट्रम्पभन्दा आफूलाई फरक देखाउने प्रयासका रूपमा मात्र बुझ्नु गलत हुन्छ। यो उपराष्ट्रपतिको पदबाट प्राप्त प्रभाव प्रयोग गरेर बहसको विषय र दिशा तय गर्ने प्रयास पनि हो,’ रिचीले भनेका छन्।
भान्सका प्रतिनिधिले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।
ह्वाइट हाउसले भने ट्रम्पले बुधबार पत्रकारहरूसँग भान्सको चुनावी नतिजासम्बन्धी धारणालाई आफूले बुझेको बताएको प्रसङ्गतर्फ रोयटर्सलाई संकेत गरेको छ।
तर ट्रम्पसँगको निकटता भान्सका लागि आगामी चुनावमा चुनौती बन्न सक्छ। डेमोक्र्याटहरूले सन् २०२८ को चुनावमा रिपब्लिकन उम्मेदवारलाई ट्रम्पसँग जोडेर प्रचार गर्ने सम्भावना छ।
डेमोक्र्याटिक रणनीतिकार इगोर भोल्स्कीका अनुसार भान्सले पार्टीको आन्तरिक प्रतिस्पर्धा जित्ने र आम चुनावमा पनि मतदाताको समर्थन पाउने गरी आफ्नो राजनीतिक छवि बनाउनुपर्नेछ। ट्रम्पका समर्थकको विश्वास कायम राख्दै उनीसँग जोडिएका विवादबाट बाहिर निस्कनु उनका लागि सजिलो हुनेछैन।
मध्यावधि चुनावको हारले भान्सको आफ्नै राजनीतिक छविमा पनि असर पारेको छ।
उनले चुनावी प्रचार गरेका राज्यमा समेत रिपब्लिकन उम्मेदवार पराजित भएका छन्। उनले समर्थन गरेका केही चुनावी रणनीति पनि विवादमा परे।
त्यसमध्ये ओहायोका गभर्नर पदका रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीले चलाएको एउटा विज्ञापन विवादित बनेको थियो। उक्त विज्ञापनमा विजयी डेमोक्र्याटिक उम्मेदवार एमी एक्टनले भोगेको यौन दुर्व्यवहारको घटनामाथि प्रश्न उठाइएको थियो।
मध्यावधि चुनावमा हारपछि रिपब्लिकन पार्टीका अन्य सम्भावित राष्ट्रपतीय उम्मेदवारले पनि हारको कारणबारे आआफ्नो धारणा सार्वजनिक गरेका छन्। टेक्सासका सिनेटर टेड क्रुजले महँगी नियन्त्रणमा पार्टीले पर्याप्त काम नगरेको बताएका छन्। फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पराजित उम्मेदवारले ट्रान्सजेन्डरसम्बन्धी मुद्दामा बढी ध्यान दिँदा डेटा सेन्टर र कृत्रिम बौद्धिकताजस्ता मतदाताका चासो ओझेलमा परेको बताएका छन्। विदेशमन्त्री मार्को रुबियोले भने यसबारे केही बोलेका छैनन्।
चुनावी अभियानको अन्तिम चरणमा भान्सले आफ्ना प्राथमिकता स्पष्ट पार्न थालेका थिए। उनले स्वास्थ्य सेवा र गरिबी निवारणका सरकारी कार्यक्रममा भएको भनिएको अनियमितताको अनुसन्धान, आप्रवासन नीति र महँगी नियन्त्रणलाई चुनावी मुद्दा बनाएका थिए। त्यस क्रममा उनले इरान युद्ध र पेट्रोलियम पदार्थको मूल्यबारे लगभग केही बोलेनन् भने ट्रम्पको नाम पनि कमै लिए।
उत्तर क्यारोलिनाको चुनावी सभामा उनले भनेका थिए, ‘मेरा छोराछोरीले जीवन्त, समृद्ध, स्वतन्त्र र सम्पन्न देशमा परिवार बसाल्न सकून् भन्ने चाहन्छु। म सामान्य कुरा चाहन्छु। म आफ्ना लागि यस्तो चाहन्छु भने तपाईंहरूका लागि पनि त्यही चाहन्छु।’