अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्।
टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीको 'नेतृत्वकर्ता' विधामा वाग्लेको नाम समावेश छ।
सूचीमा उनलाई नेपालको अर्थमन्त्रीका रूपमा परिचय दिइएको छ।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिनिर्माणमा संलग्न वाग्ले पछिल्लो समय निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय छन्।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा उनले गरेको पैरवी, जलवायु वित्त जुटाउन र स्रोत व्यवस्थापनका लागि गरेको पहल तथा अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि राखेका विचार उनका महत्त्वपूर्ण योगदानका रूपमा उल्लेख छन्।
टाइमको सूचीमा वाग्लेसँगै बेलायती राजकुमार विलियम, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन लगायत व्यक्तित्व समेटिएका छन्।
टाइमले जलवायु परिवर्तनको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका विश्वका १०० व्यक्तित्वलाई यस सूचीमा समेटेको हो।