प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज चारदिने भ्रमणका लागि भारत जाँदैछन्।
उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ।
उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ। मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।
त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।
त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ।यस्तै उनी भारतको मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण गर्नेछन्।