नागरिकता विधेयक प्रमाणीकरण भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई पूर्वउपप्रधामन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले धन्यवाद दिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका निधिले आज प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन्।
उनले विधेयक प्रमाणीकरण भएसँगै संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको सर्वोच्चता कायम भएको बताए।
‘यसबाट नेपालको संविधान २०७२ ले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ। बुवा र आमा दुवै जना नेपाली नागरिक भएर पनि वर्षौंदेखि नागरिकता नपाएका तिनका सन्तानहरूका समस्या समाधान हुने भएको छ’, निधिले भनेका छन्।
२०७२ असोज ३ गते संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले विधेयक प्रमाणीकरण भएसँगै वंशजको नागरिकता पाउने उनले बताए।
‘२०७२ को संविधानले संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ तर संविधानको सो व्यवस्था अनुसार, नागरिकता ऐन निर्माण नहुँदा त्यस्ता नागरिकका सन्तानले नागरिकता पाउन सकेका थिएनन्’, उनले भनेका छन्।
उनले नागरिकता नपाउँदा अध्ययन तथा रोजगारीका अवसरबाट बचित भएको मात्र होइन, 'बोनाफाइड' नागरिक भएर पनि नागरिकताविहीन जीवन र पुस्ता निर्माणले हुन सक्ने अवाञ्छित द्वन्द्वको स्थायी समाधान भएको बताए।
‘नागरिकता नपाउँदा अध्ययन तथा रोजगारीका अवसरबाट बचित भएको मात्र होइन, 'बोनाफाइड' नागरिक भएर पनि नागरिकताविहीन जीवन र पुस्ता निर्माणले हुन सक्ने अवाञ्छित द्वन्द्वको स्थायी समाधान भएको छ’, उनले भनेका छन्, ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यस किसिमका सबै समस्याको समाधान हुने विश्वास लिएको छ।’