नक्कली भुटानी शरणार्थी प्रकरण बहस गर्न समय छुट्याउने समझदारी भएको छ।
आइतबार यस प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ। थुनछेक बहस गर्नुअघि भएको छलफलमा न्यायाधीश न्यौपानेले समय छुट्याउने समझदारी गरेका हुन्।
सरकारी वकिलहरूले तीन दिन बहस गर्ने समझदारी भएको हो। आइतबार, सोमबार र मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन्।
अर्को मंगलबारसम्म प्रतिवादीका पक्षका वकिलहरूले बहस गर्ने भएको हो। यद्यपि बहस लम्बिन पनि सक्नेछ।
दुबै पक्षको बहस सकेपछि भने बुधबार सरकारी वकिलले जवाफी बहस गर्न सहमति भएको छ। त्यसपछि इजलासले प्रतिवादीहरूलाई पुर्पक्षको लागि पठाउने/नपठाउने निर्णय गर्नेछ।
सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता महेश थापा, जनकप्रसाद घिमिरे, सीताराम अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश घिमिरे, हिरालाल भोलन, सूरबहादुर परियार र दिनेश भट्टराईले बहस गर्नसक्ने सम्भावना छ।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ गरिसकेको छ।
उनीहरू सबै जनाको गत शुक्रबार बयान लिन सकाएको थियो। बयान सकेसँगै आजबाट थुनछेक बहस हुन लागेको हो।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।
फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।