नयाँ नागरिकता कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएको छ।
झापामा आइतबारबाट नागरिकता वितरण सुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मोरङ र सुनसरी प्रशासनले भने नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो।
‘हामीले आजबाट नागरिकता वितरण सुरू गर्यौं,’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले भने, ‘अहिले भीडभाड छ। साँझसम्ममा कति जनाले लिनुभयो भन्ने थाहा हुन्छ।’
जिल्ला प्रशासन कार्यालय सुनसरीले भने तयारी थालिएको बताएको छ।
‘अभिलेखहरू हेर्ने, वडाहरूसम्म व्यवस्थापन मिलाउने काममा हामी लागेका छौं,’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘तयारी सकिएपछि नागरिकता वितरण सुरू हुनेछ।’
उनका अनुसार सुनसरीमा करिब २५ हजार हाराहारी संख्याका नागरिकले नागरिकता लिने अनुमान छ।
३० हजार हाराहारीका नागरिकले नागरिकता पाउन बाँकी मोरङमा पनि तयारी गर्न सोमबार स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बैठक आयोजना गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए।
‘यहाँ ३० हजार हाराहारीको संख्या छ, त्यसैले स्थानीय तहसहितका प्रमुखहरूसँग छलफल गरेर सेड्युल मिलाउने तयारीमा छौं,’ उनले भने, ‘एकैपटक आउने अवस्था सिर्जना भए व्यवस्थापन गर्न सकस हुन्छ भनेर हामीले व्यवस्थापनको उपाय खोज्दैछौं।’
राजपत्रमा सूचना प्रकाशित भइसकेर गृहले परिपत्र गरिसक्दा पनि नागरिकता वितरणमा ढिलाइ भएकोबारे सोध्दा उनले थपे, ‘धेरै संख्या भएका कारण व्यवस्थापन मिलाउनै पर्छ। अन्यथा सिमित जनशक्तिबाट काम हुन गाह्रो हुन्छ। त्यसैले पालिकाहरूसँग सल्लाह गरेर सोही अनुसार नागरिकता वितरणको तयारी गरिएको हो।’
राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ।
नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन्।
त्यस्तै, गैरआवासीय नेपालीले राजनीतिक बाहेकका अधिकार प्राप्ति गर्नका लागि पनि नागरिकता पाउने छन्।
नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउँछन्।