गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकालाई विशेष क्षेत्र कायम गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ।
गण्डकी सरकारले ल्याएको नीति तथा कार्यक्रममा गोरखाका चुमनुब्री र धार्चे तथा मनाङको नार्पाभूमि गाउँपालिकालाई विशेष क्षेत्र कायम गर्न पहल गर्ने उल्लेख छ।
यी क्षेत्रलाई विशेष क्षेत्र कायम गर्न गण्डकी प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपानेले पहल गर्दै आएका थिए।
‘चुमनुब्री र धार्चेलाई विशेष क्षेत्र कायम गर्ने विषयमा हामीले पहल गर्दै आएका थियौं। गण्डकी सरकारले नार्पाभूमिलाई समेत समेटेर विशेष क्षेत्र कायम गर्न पहल गर्ने विषय नीति तथा कार्यक्रममै समेटिसकेको छ,’ सांसद न्यौपानेले भने।
भौगोलिक विषमता र विकासको दृष्टिकोणले पछि परेका क्षेत्रलाई विशेष क्षेत्र कायम गर्न गण्डकी सरकारले केन्द्र सरकारसँग पहल गर्ने भएको हो।