रेशम चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका चौधरीविरूद्ध परेको रिटमा ५ महिनापछि दोस्रो सुनुवाइ हुन लागेको हो।
०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
०७५ फागुनमा जिल्ला अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। २०८० जेठमा सर्वोच्च अदालतले उनलाई जन्मकैदमात्र हुने फैसला सुनायो।
फैसलाको केहीदिनमै गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई सजाय माफि गरिदिएको थियो।
४० प्रतिशत कैद भुक्तानी गरिसकेको र जेलमा असल चालचलन देखाएको भन्दै चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफि दिएका थिए। त्यसपछि चौधरी गएको जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
रिहा भएपछि टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।
जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो।
अग्राधिकार दिएपनि ५ महिनापछि मात्रै सुनुवाइ हुन लागेको हो।
सर्वोच्चका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले उक्त मुद्दामा आज सुनुवाइ हुन लागेको बताए।
पछिल्लो आदेशअनुसार लिखित जवाफ आउन समय लागेकाले सुनुवाइ ढिला भएको उनले बताए।