उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित भएको छ।
दुवईमा आयोजना हुन लागेको १८औँ दुबइ एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो।
यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति दिएको थियो ।
तर यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गरेका हुन्।
‘भूकम्प गएपश्चात जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशिल रहनुपरेकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो,’ रक्षा मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।