नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनै तहका सरकारले प्रभावकारी काम गर्नुपर्ने बताएका छन्।
स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी काम गरे संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था संकटमा नपर्ने उनले बताए।
गणेशमान सिंहको १०९ औं जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै सिंहले जनताले सरकारहरूबाट प्रभावकारी कामको अपेक्षा गरिरहेको बताए।
‘जनताको संघर्षबाट स्थापित अहिलेको व्यवस्था संकटमा पर्दैन। तीनै तहका सरकारबाट जनताले प्रभावकारी काम खोजिरहेका छन्,’ सिंहले भने, ‘तीनै तहका सरकारलाई आवश्यक अधिकार दिएर अघि बढ्नुपर्छ।’
उनले अहिलेकै गठबन्धनबाट सरकारले निरन्तरता पाउने पनि बताए। संविधान रक्षाका लागि गठबन्धन बनेकोले यो निरन्तर चल्ने उनको भनाइ थियो।
फरक प्रसंगमा सिंहले भूकम्प प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए।