कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावितहरूका लागि अस्थायी आवास तथा विद्यालय सिकाइका लागि तत्काल अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पका कारण घरबाहिर बस्न बाध्य नागरिकका लागि अस्थायी आवास तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने निर्णय गरेको हो।
तत्काल यसका लागि जस्तापाता खरिद गर्न आवश्यक बजेट व्यवस्था गर्ने आवास तथा सिकाइ केन्द्र निर्माणको नेतृत्व भौतिक पूर्वाधार मन्त्रालय गर्ने निर्णय भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।
यस्तै, अस्थायी आवास तथा अस्थायी सिकाइ केन्द्र निर्माणका लागि दातृ निकायलाई सहयोग लागि अपिल गर्ने निर्णय सरकारले गरेको छ।
यसैगरी अपुग राहत सामग्री खरिद तथा वितरण गर्ने, मृतक परिवार र घाइतेहरूलाई दिने राहत रकम तत्काल कार्यविधि अनुसार उपलब्ध गराउने, पशुचौपायाको समेत राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
पुनर्निर्माणका लागि आवश्यक स्रोतसाधन तथा जनशक्ति सहयोगका लागि नेपाल सरकारसँग सहयोग माग्ने, पुनर्निर्माणसम्बन्धी प्रदेशको कार्यविधि निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिएको मन्त्री जिसीले जानकारी दिए।