गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरू नियमित संचालन गरी प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे।
कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको द्रूत मार्ग निर्माण, तनहुँमा सय शैय्याको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए।
चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तरार्ष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत सहरहरूबाट नियमित सिधा उडानका लागि अनुरोध गरे।
‘यसले दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कलाई पनि मद्दत पुर्याउनेछ,’ मुख्यमन्त्री पाण्डेले भने।
भेटका क्रममा सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गतेमा खोल्ने योजना रहेको बताए।
साथै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सीधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने बताए।
गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिए।
तिब्बत सँगको सम्बन्ध अहिले मात्र नभई ईतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत संम्बन्धको स्मरण गरे।
१२ औं शताब्दी तिर अरनीको ले नेपाल चिनको संम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने, ‘घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई सदियौंदेखि निरन्तरता दिइरहने मित्र राष्ट्र नेपाल र चीन पनि हो।’
मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे। सेक्रेटरी वाङ छुङछेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। भेटमा दुई देश बीचको आपसी सम्बन्ध, सहकार्य र हितका अन्य विषयमा पनि छलफल भएको थियो।