प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कहिलेसम्म रहन्छ भन्ने विषय मुख्य नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा कतिन्जेल रहेको भन्दा पनि जनताको पक्षमा कति काम गरेको भन्ने विषय मुख्य रहने बताएका हुन्।
‘मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो। त्यसमा हामीले कति राम्रो कुरा सुरू गर्छौं भन्ने मुख्य हो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रले ०८४ को निर्वाचनमा पनि ०६४ को निर्वाचन जस्तै जनताको समर्थन र विश्वास जुटाउन सक्नुपर्ने बताए।
सरकारमा रहेर सरकारले सुरू गरेको नयाँ आन्दोलनले पनि पार्टीप्रति जनताको भरोसा बढेको उनको भनाइ छ। यो अभियानमा अझै दृढताका साथ अगाडि बढ्ने उनले बताए।
उनले पछिल्लो समय केही सुधार पनि देखिएको बताए।
‘अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु,’ उनले भने।
उनले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार शुरु भएपछि सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको पनि बताए।-न्युज एजेन्सी नेपालबाट