राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै यसलाई बन्द नभई नियमन गर्नुपर्ने बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको थियो। यसको निर्णय बाहिरिएसँगै सत्तारूढ दलकै नेताहरूले पनि विरोध जनाएका छन्। नेपाली कांग्रेसका महामन्त्रीद्वय समेतले यसको विरोध गरेका छन्।
यसबारे सभापति लामिछानेले प्रश्न गरेका छन्।
‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?,’ उनले सोधेका छन्।
यस्तै, उनले टिकटकका कन्टेन्टमा समस्या भएको भए पनि प्लेटफर्म नै बन्द गर्न नहुने बताए।
‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष?,’ उनले लेखेका छन्, ‘टिकटकका कैयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।’
टिकटकमा हाल्ने सामग्री फेसबुक इन्स्टाग्राममा पनि राख्न मिल्ने भन्दै त्यसलाई पनि बन्द गर्ने भन्दै उनले प्रश्न गरेका छन्।
‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौं नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त? मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कैयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे,’ उनले लेखेका छन्, ‘आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको (राम्रो, सुधारिएको र अनुशासित) सोसल मिडिया हो।’