गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ।
उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा आज काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगको उपचार गराइरहेकी उनको आज बिहान पौने १२ बजे निधन भएको कोमल वलीका स्वकीय सचिव जीतबहादुर खड्काले जानकारी दिए।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको मलमलकिरी जुनकिरी बोलको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो।
दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकर्डिङ स्टुडिओमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।
ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन्।
उनका दुई छोरा र दुई छोरी छन्।