प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन्।
पार्टीको जनसंगठन संयन्त्रले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गरे।
उनले देशलाई अप्ठ्यारोबाट मुक्त गराउनेगरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मंसिर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए।
उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरूलाई निर्देशन दिए।
ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारूढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरूले सो प्रदर्शनीको आह्वान गरेको बताए।
उनले भने, ‘७ गते हामी अलिकति थोरै के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठयारो छ। बिग्रँदो छ। त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढ्छ अब। अर्को कुरा, अहिले भइरहेको बेथितिलाई, कुशासनलाई, भ्रष्टाचारलाई, तस्करीलाई यही कुरालाई चुपचाप हेरेर बसिरहन सक्दैनौं। ७ गते म सुन्दैछु–एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् देशभरबाट। व्यक्ति वा मानिसहरू उतार्नका लागि। काठमाडौंमा मानिसहरू उतार्नका लागि उनीहरू लागेका छन्। ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन्। अरू केही हुनेवाला छैन।’
दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए।
‘यो धेरै ठूलो बलिदानबाट ल्याइएको व्यवस्था हो। त्यसकारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीका भाषा बोल्न चाहन्छु। लोकतन्त्रको विरूद्ध लड्ने कुरा त छोडिदिऊ। लोकतन्त्रको विरूद्ध औंलो ठड्यायो भने त्यो औंलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झार्छौं हामी, झारिदिन्छौं। त्यो कुरा सबैले बुझ्नुपर्छ।’