लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले लप्सीफेदीका नागरिकहरूको उठिबास नहुनेगरी सवस्टेशन बनाइनुपर्ने बताएका छन्।
लप्सीफेदीमा प्रहरी पोष्ट राख्न पुगेको प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पक्राउ परेकाहरूलाई भेटेपछि नेता महतोले आदिवासी जनजातिहरूमाथि दमन गरेर नभई वैकल्पिक स्थानमा सवस्टेशन निर्माण गरिनुपर्ने बताएका हुन्।
‘गाउँको बीचमा सवस्टेशन बनाउँदा त्यहाँको जनता सुरक्षित देखिएनन्,’ उनले भने, ‘उहाँहरूको माग पनि आफ्नो थातथलोलाई उठिबास नलगाइयोस् भन्ने रहेछ। यसप्रति सरकारले ध्यान दिनुपर्छ।’
नेता महतले अधिकार खोजेका नागरिकलाई प्रहरीले घरबाटै गिरफ्तार गरेर कुटपिट गरिनु निन्दनीय रहेको बताए। ‘पहिले पनि त्यहाँका नागरिकहरूले विरोध गर्दा प्रहरीले यसरी नै दमन गरेको थियो। यो चाहीँ भएन,’ नेता महतले भने।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ।
सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका छन्। मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको थियो।
त्यहाँका स्थानीयले भने सरकारले झुक्याएर आफूहरूको उठिबास लगाउन खोजेको आरोप लगाउँदै विगत तीन वर्षदेखि आन्दोलन गरिरहेका छन्।
पोहोर साल माघ महिनामा पनि त्यहाँका स्थानीयले लामो समय आन्दोलन गरेका थिए।
अधिग्रहण गरिसकेको १७० रोपनी जमिनको नभई बाँकी रहेको आफ्नो जमिनको रक्षाका लागि आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनीहरू बताउँदै आएका छन्।
प्राधिकरणले प्रसारण लाइन बनाउन थप जग्गा अधिग्रहण गर्न खोजेको त्यसो गर्दा प्रसारण लाइनमुनिका हजारौं रोपनी जग्गा खेर जाने र आफूहरूको लडाइँ त्यही जमिन जोगाउन रहेको त्यहाँका स्थानीय बताउँछन्।
सरकारले त्यहाँ निर्माण हुने सवस्टेशनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोष्ट बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शुक्रबार साँझ लप्सीफेदी पुगेका सुरक्षाकर्मीहरूलाई त्यहाँका जनताहरूले अवरोध गरेका थिए।
प्रहरीले स्थानीयहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको आरोपमा १४ जनालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त बौद्धमा राखेको छ।