नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेर गएको बताएका छन्।
विराटनगरमा शनिबार पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथा संग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरू मात्रै रहने प्रस्ट पारे।
'युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढ्यौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ', कोइरालाले भने, 'राजनीतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ। स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ।'
जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो। त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए।
'अलि हुनेखानेहरू अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन्। आर्थिक रूपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्', कोइरालाले थपे, 'एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन्। यस्तो अवस्थाले देश उँभो लाग्दैन।'
उर्वर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे।
कोइरालाले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे। कोभिड–१९, रूस–युक्रेन युद्ध र इसराइल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको कथन थियो।
कोइरालाले मुलुकको शिक्षा नीतिमा आमूल परिवर्तन जरूरी रहेको बताए।