नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा एक हजार वटा टहरा बनाउने भएको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले टहरा बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्। पौडेलले मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने सेतोपाटीलाई बताए।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो। एउटा टोलीमा २५ जनाका दरले स्वयमसेवक हुनेछन्।
वृद्धवृद्धा र सुत्केरी परिवारलाई प्राथमिकतामा राखेर टहरा बनाउने तयारीमा कांग्रेस छ।
‘पहिलो टोलीमा एक सय ५० जना स्वयमसेवक रहनेछन्। भोलिदेखि नै टहरा बनाउने काम सुरू हुन्छ,’ पौडेलले भने, ‘हामीले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा टहरा निर्माण गर्छौं।’
यो पनि: भूकम्पपीडित बस्ने टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली पठाउने कांग्रेसको निर्णय