अर्थमन्त्री प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन्।
मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि मन्त्री महतले उक्त कुरा बताएका हुन्।
उनका अनुसार ऋण लिएर नतिर्नेहरूको सुनुवाइ राज्यबाट हुँदैन।
‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारूकताका साथ काम गर्ने निष्कर्ष निस्कियो,' उनले भने, 'जो साँच्चिकै समस्यामा छन्, उनीहरूलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण हुन्। तर ऋणको सवालमा ऋण लिएर पैसा लिएर तिर्दै तिर्दिनँ भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ।'
यस्तै, अप्ठ्यारोमा परेकालाई समय दिएर सहजीकरण गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
तर ऋण लिएको व्यक्ति नै ठूलो पल्टिने कुरालाई राज्यले सहन नसक्ने उनले बताए।
'राज्यको साधनस्रोतले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिबद्ध छ', उनले भने।