नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले 'अराजक गतिविधि' गर्नुमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको पनि हिस्सेदारी रहेको आरोप लगाएका छन्।
कांग्रेस अर्घाखाँचीको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा अराजक गतिविधि भइरहेको बताए।
'दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हुन्। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ महरले भने।
ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरको भनाइ छ।
'प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्। उनीहरूको दोहोरो उक्साहटमा उनले आन्दोलन गरिरहेका हुन्। यसमा राजाको पनि अप्रत्यक्ष साथ होला। तर बढी भूमिका प्रचण्ड-ओलीकै छ,’ उनको आरोप छ।
सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिष्ट प्रपञ्चको हिस्सेदार प्रसाईं पनि रहेको उनले आरोप लगाएका छन्।
प्रचण्ड र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलापमा जान नसक्दा अराजकताले प्रश्रय पाइराखेको उनको भनाइ छ।
केही अराजक तत्व पुन: मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलापमा बलियो गरी उभिनुपर्ने उनले बताए।
'कांग्रेस पनि सुध्रिनुपर्ने छ। हाम्रा कमी कमजोरी छन्। कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,' उनले भने।