राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शनमा सहभागी नभएका राप्रपाका नेता र कार्यकर्तालाई प्रशासनको निशानामा पार्नु आपत्तिजनक भएको बताएको छ।
शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रशासनिक दमन, धरपकड कार्य गरिनु आपत्तिजनक र बिडम्बनापूर्ण भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका हुन्।
'संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ,' राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद, आपत्तिजनक र विडम्बनापूर्ण छ।'
यस्तै, आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थल पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने कार्य अलोकतान्त्रिक भएको विज्ञप्तिमा उल्लेख छ।
'घर-घरमा पुगेर व्यक्ति-व्यक्तिलाई पक्राउ गर्ने, सडकपेटीमा हिँडिरहेका नागरिकलाई बिना कारण जथाभावी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ,' विज्ञप्तिमा भनिएको छ, 'यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्तविपरीत छ।'
त्यस्तै, राप्रपाले अलोकतान्त्रिक गतिविधि रोक्न समेत ध्यानाकर्षण गराएको छ।
'अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। साथै, गिरफ्तार गरिएका सबैको बिना शर्त अविलम्ब रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ', विज्ञप्तिमा भनिएको छ।