जनमत पार्टीले गत चुनावमा वाचा गरेको १० लाख रोजगारी सिर्जना गर्ने विषयमा अध्ययन थालेको छ।
पार्टीका सचिव बिपी साहको नेतृत्वमा हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी सिर्जनाका लागि अध्ययन एवं राय संकलन कार्य सुरू गरेको हो।
पहिलो चरणमा मधेस प्रदेशका आठवटा जिल्लामा अध्ययन थालेको जनमतले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया पाइरहेको सचिव साहले बताए।
सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचनमा भाग लिँदा कृषि र रोजगारीको मुद्दा जोडतोडले उठाएको थियो। जनमतले चुनावमा दस लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
यो अभियान बुधबार महोत्तरीबाट थालिएको हो। बिहीबार सिरहाको बरियारपटी र शुक्रबार सप्तरीको राजविराज तथा बलान विहुल गाउँपालिकामा सुझाव संकलन गरिएको छ।
राजविराजमा आयोजित कार्यक्रममा पूर्वमेयर शैलेश चौधरीले हुलाकी राजमार्गको आसपास सिँचाइको उचित व्यवस्थापन भए स्वतः रोजगारी बढ्ने बताए।
'निर्माणमा ढिलासुस्ती भएको हुलाकी राजमार्गलाई रोजगारीसँग जोड्न आवश्यक छ,' चौधरीले भने, 'हुलाकी राजमार्ग आसपास सिँचाइको उचित व्यवस्था र कृषि बजारको व्यवस्था भए ठूलो संख्यामा रोजगार सिर्जना हुनेछ। यहाँ धार्मिक पर्यटनको सम्भावना पनि अत्यधिक छ।'
हुलाकी सडक खण्ड अन्तर्गतका पुल निर्माणमा ढिलाइ भएकाले सवारी साधन संख्या बढ्न नसकेको निर्माण व्यवसायी अरूण प्रधानले गुनासो गरे।
'हुलाकी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनका लागि पहिले पुल निर्माण सम्पन्न गरिनुपर्छ। बनेका पुलहरूको छेउछाउमा स–साना काम बाँकी भएकाले सवारी साधान चल्ने अवस्था छैन,' प्रधानले भने, 'राजमार्गमा आवतजावत हुने सवारी साधन र यात्रुको संख्या बढे होटn व्यवसाय तत्कालै फस्टाउनेछ, हजारौंले रोजगारी पाउने छन्।'
कार्यक्रममा सहभागी सर्वसाधारणले सडक र पुल निर्माणमा ढिलाइ गर्ने ठेकदारहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताए। ठेकदारहरूले विभिन्न बहाना बनाएर हुलाकी राजमार्ग अलपत्र पारेको भन्दै सहभागीले आक्रोश पोखेका थिए।
कार्यक्रममा जनमत पार्टीका सचिव साहले पार्टीले उठाएको मुद्दा अनुरूप रोजगारी सिर्जनाका लागि काम भइरहेको बताए।
'हुलाकी राजमार्ग सञ्चालन र यसै क्षेत्रमा रोजगारी सिर्जनाका लागि काम भइरहेको छ,' उनले भने, 'हाम्रो पार्टीको सामर्थ्य अनुसार सरकार र सदनमा यस विषयलाई लैजाँदै छौं। सरकारले यसतर्फ ध्यान नदिए सडक संघर्षका लागि तयार रहनु होला। रोजगारी सिर्जनाका लागि सबैको साथ र सहयोग हामीलाई चाहिन्छ।'
कार्यक्रममा सहभागी मधेस प्रदेश नीति आयोगका सदस्य सोहनप्रसाद साहले मधेस प्रदेशमा पर्ने आठ वटा जिल्लाका ४६ पालिकाहरू रोजगारी सिर्जना गर्ने अभियानमा अगाडि आउनुपर्ने बताए।
'मुख्य रूपमा हुलाकी राजमार्गमा पर्ने ४६ वटा पालिकाका करिब २२ लाख जनताले यस राजमार्गबाट प्रत्यक्ष लाभ लिन पाउने छन्। रोजगारी पाउने छन्,' साहले भने, 'हामीले नीतिगत रूपमा काम थालेका छौं। यसका विभिन्न पक्षबारे अध्ययन भइरहेको छ।'