कर्णाली प्रदेशका बालबालिकाले पहिलोपटक संसदीय अभ्यास गरेका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उनीहरूले संसदीय अभ्यास गरेका हुन्।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश र प्रदेश सभा सचिवालयको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बालबालिकाहरूलाई संसदीय अभ्यासमा सहभागी गराइएको हो।
शनिबार २१ सदस्य नमूना बाल संसद बनाएर बालबालिकाहरूबीच संसदीय अभ्यास गरिएको हो।
संसद निर्माण, संसदभित्र उठाइने विषय, गरिने व्यवहार, बैठक प्रक्रिया, कानुन निर्माण प्रक्रिया, बजेट पारित गर्ने प्रक्रिया, संसद आह्वान तथा अन्त्यको विषयमा बालबालिकाहरूलाई अभ्यास गराइएको हो।
नमूना बाल संसदमा कर्णाली प्रदेशका १० जिल्लाबाट २१ जना बालबालिका सहभागी थिए।
उनीहरूले कात्तिक ६ गतेदेखि ८ गतेसम्म यससम्बन्धी प्रशिक्षण पनि दिइएको थियो।
प्रशिक्षणका क्रममा बालअधिकार तथा संसदीय अभ्यासका बारेमा उनीहरूलाई सहजीकरण गरिएको बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका सचिवालय प्रमुख टेकराज आचार्यले जानकारी दिए।
पहिलोपटक संसदीय अभ्यास गरिए पनि संसदीय पद्धतिबारे धेरै कुरा सिक्ने अवसर मिलेको नमूना बाल संसदमा सहभागी गौमाया अधिकारीले बताइन्।
संसद भनेको जनतालाई प्रत्यक्ष लाभ पुग्ने विषयमा गहन छलफल गर्ने थलो भएको महसुस आफूले गरेको उनले बताइन्।
नमूना बाल संसदमा १३ बर्षदेखि माथिका र १८ वर्षभन्दा मुनिका बालबालिका सहभागी थिए। उनीहरूले बालअधिकार कार्यान्वयन, बालहिंसा अन्त्य, लागुऔषध दुर्व्यवसनी अन्त्य गर्नुपर्ने विषयमा संसदीय अभ्यासका क्रममा उठाएका थिए।
बालबालिकाबीचको संसदीय अभ्यासमा सहभागी कर्णाली प्रदेश सभा सदस्य जुन्कित लामाले भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाले संसदीय प्रक्रियाबारेमा जान्नु जरूरी रहेकोले यसलार्य निरन्तरता दिई सबै बालबालिकालाई सहभागी गराउनुपर्ने बताइन्।
प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बाल अधिकार कार्यान्वयन, लागुऔषध दुव्र्यसनीको अन्त्य, बालविवाह तथा बालहिंसाविरूद्ध बालबालिका आफैं पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।
आ–आफ्नो क्षेत्रमा बालबालिकाले यस्ता विषयमा आवाज उठाउनु जरूरी रहेको उनले औंल्याए।
उनले बालबालिकाले अधिकार प्राप्तिसँगै कर्तव्यबोध गर्ने विषयमा पनि प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्यले संसदीय अभ्यासका क्रममा बालबालिकाले उठाएका सवालमा कर्णाली प्रदेश सभाका सदस्यहरू पनि गम्भीर हुनुपर्नेमा जोड दिए।