नेकपा (एमाले) का सचिव योगेश भट्टराईको ताप्लेजुङ सदरमुकामस्थित घरअगाडि आन्दोलनकारीहरूले प्रदर्शन गरेका छन्।
आइतबार बिहान कालो झण्डासहित फुङलिङस्थित भट्टराईको घरअगाडि आन्दोलनकारीहरूले प्रदर्शन गरेका हुन्।
दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ।
सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो ताप्लेजुङ पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको संख्यामा पहिचानवादीहरू भेला भएका छन्।
‘आज बिहान उहाँ (भट्टराई) को घरअगाडि र अहिले पार्टी कार्यालयअगाडि आन्दोलनकारीहरूले प्रदर्शन गरेका छन्,’ उनले भने।
कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूको आन्दोलनकारीहरूले विरोध गर्दै आएका छन्।
कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न उनीहरूले चेतावनी दिने गरेका छन्।