नेकपा (एमाले) का सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार भट्टराई सवार प्रदेश-२-०१-००१ च ००४० नम्बरको गाडीमा ढुंगामुढा भएको हो।
आफू सवार गाडी फुङलिङ बजारमा तोडफोड भएको सचिव भट्टराईले सेतोपाटीलाई बताए। भट्टराई सवार गाडीको सिसा फुटेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीले एमाले सचिव भट्टराई चढेको गाडी तोडफोड भएको बताए।
‘उहाँ चढेको गाडीमा लुकेर ढुंगा प्रहार भएको देखिन्छ,’ उनले भने, ‘गाडी तोडफोड गर्नेहरूको खोजी गर्दैछौं।’
दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको थियो।
सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो ताप्लेजुङ पुगेका थिए। कार्यक्रम सकेर काठमाडौं फर्कने बेला भट्टराई सवार गाडी तोडफोड भएको हो।
कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूको आन्दोलनकारीले विरोध गर्दै आएका छन्।
कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न आन्दोलनकारीले चेतावनी दिने गरेका छन्।
* सम्पादन गरिएको