राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाने भएका छन्।
वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत् अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आइताबार राति अष्ट्रेलिया जान लागेको हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाअन्तर्गत् अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
युएनडिपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ।
प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ।
प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिना, सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरूङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका उपसभामुख बबिता कुमारी राउत, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड केसी छन्।
यस्तै मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष तिमल्सिनाको स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधिमण्डलमा समावेश छन्।
अध्यक्ष तिमल्सिना सहितको टोली मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम छ।