प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन्।
कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताए।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उनले सम्मेलनमा मागका रुपमा नभएर अधिकारका रुपमा आफ्ना एजेण्डा राख्न् तयारीका साथ आफू सम्मेलनमा आएको बताएका छन्।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोप २८ मा जलवायु परिवर्तनबाट नेपालललाई असर परेको असरको क्षतिपुर्तिको रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने बताए।
दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भैरहेको जानकारी दिए ।
विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बिदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए।
त्यसबखत युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएइ र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।