ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन्।
महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट बत्ती बिहीबार साँझ उद्घाटन गर्दै मेयर महर्जनले सडक दुर्घटना न्युनिकरणका लागि बत्ती जडान कार्यलाई तीब्रता दिएको बताए।
कुसुन्ती क्षेत्रमा सडक बत्ती नभएका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको र धोबीघाट क्षेत्रमा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको उनले बताए।
उज्यालो नभएकै कारण मानिसहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न महानगर लागिपरेको उनले बताए।
उनले महानगर क्षेत्रकै ७.९ किमी चक्रपथमा बत्तीको व्यवस्था गरिसकिएको बताए। सडकमा बत्ती राखेपछि दुर्घटना कम भएको उनको भनाइ थियो।
सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए। साथै १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग गरेको उनको भनाइ छ। कूल ४ करोड २० लाख रुपैयाँ बत्तीका लागि छुट्याइएको उनको भनाइ छ।
दुई वर्षको काम सकेपछि ललितपुर महानगर उज्यालो हुने उनले बताए।
‘दुई वर्षको काम सकेपछि ललितपुर महानगर उज्यालो हुनेछ। राति प्लेनबाट काठमाडौं उपत्यका हेर्दा उज्यालो ललितपुर महानगरपालिका हुनेछ। जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ,’ मेयर महर्जनले भने।
महानगरले सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङ्मती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म दोस्रो चरणमा सडक बत्ती जडान गरेको थियो।
महानगरले पहिलो चरणमा छ सय ६९ थान सडक बत्ती जडान गरेको थियो।
(न्युज एजेन्सी नेपाल)