नेपाली कांग्रेस नवलपरासीमा विवाद देखिएको छ।
शुक्रबारका भएको जिल्ला सम्मेलन उद्घाटन गर्न नेता शेखर कोइराला पुगेका छन्। तर सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य लगायत सम्मेलनमा अनुपस्थित छन्।
जिल्ला सम्मेलन हुनुअघि नेता कोइरालाले पार्टीभित्र देखा परेका विवादलाई समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। कोइरालाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल लगायतसँग छलफल गरेका थिए।
पार्टी विधानअनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भए पनि ती सम्मेलन नगरी जिल्ला सम्मेलन गरिएको भन्दै विवाद भएको हो।
‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ। यी कुरा म केन्द्रमा राख्छु। कांग्रेस एउटै पार्टी हो। केन्द्रले केन्द्रीय सदस्यलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो। यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारीलाई पठाउँला। कोहि नआए म आफैं आएर पनि यहाँको समस्या सल्टाउँछु,’ कोइरालाले सम्मेलन सुरू हुनुअघि भनेका थिए।
कोइरालाले असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का रहेको सन्देश दिन आग्रह गरेका थिए।
उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए। तर असन्तुष्ट पक्षले विधानविपरीत आयोजना गरिएको सम्मेलन भन्दै सहभागी हुन नसकिने बताएका थिए।
कांग्रेसका १६ जना नेता, कार्यकर्ताले ३ बुँदे जानकारीसहित केन्द्रीय कार्यालयमा पत्रसमेत पठाएका थिए।
उक्त पत्रमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र विनोद चौधरीसँग सम्मेलनबारे कुनै सल्लाह तथा समन्वय नगरेको र निम्तोसमेत नगरिएको उल्लेख छ।
कँडेल र चौधरी सभापति देउवानिकट छन्।
जिल्लास्थित भ्रातृ संघसंस्थाका प्रमुखहरूलाई पनि सम्मेलनमा नबोलाइएको र जिल्ला सम्मेलन अघि मातहत पार्टीका विभिन्न तहको सम्मेलन नगरिएको केन्द्रलाई पठाइएको पत्रमा उल्लेख छ।
यसअघि कोइराला उपस्थित कांग्रेस धादिङ सम्मेलन पनि सभापति देउवा र महामन्त्री गगन थापा पक्षका नेताहरूले बहिष्कार गरेका थिए। कात्तिक १८ गते भएको सम्मेलनमा केन्द्रीय सदस्य दिलमान पाख्रिन, भीम ढुंगाना, रमेश धमलालगायत अनुपस्थित थिए।