नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम बोल्ने र काम बढी गर्न खोजिरहेको बताएका छन्।
कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले भने, 'म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ। कम बोल्ने, काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ।'
सभापति देउवाले केन्द्रीय सदस्य चन्द्र भण्डारीको वाककला राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए।
सम्मेलनमा देउवाअघि भण्डारी बोलेका थिए। भण्डारीले 'सभापति देउवाले नेतृत्व छाड्नुपर्ने' बताएका थिए। उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ लिएर शेखर कोइरालालाई अघि बढाउन आग्रह गरेका थिए।
भण्डारीको उक्त भनाइलाई लक्षित गर्दै सभापति देउवाले, 'चन्द्र भण्डारीजी भाषण गर्न सिपालु हुनुहुन्छ, अब काम गर्ने बेला आएको छ, काम पनि गर्नुस्' भनेका थिए।
देउवाले राजनीति कुरा खासै गरेनन्। पार्टीको आन्तरिक एकताबारे केही कुरा राखेका थिए।
'बुद्ध जन्मेको धर्तीबाटै हाम्रो पार्टीमा एकता स्थापित हुनेछ, हाम्रो पार्टी बलियो हुनेछ र अघि बढ्नेछ भन्ने विश्वास लिएको छु', देउवाले भने।