नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठमा हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको पूर्ण बैठकले पहिलो राष्ट्रिय महाधिवेशन जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए।
महासंघले अधिवेशन गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ।
७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा ०८० मंसिर ३० गते बस्ने निर्णय पनि भएको छ।
वडा अधिवेशन ०८० पुस २१ गते, पालिका अधिवेशन ०८० माघ ६ गते, प्रदेश सभा क्षेत्रीय अशिवेशन ०८० माघ २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ०८० फागुन ५ गते गर्ने कार्यतालिका छ।
साथै जिल्ला अधिवेशन फागुन १९ गते, प्रदेश अधिवेशन चैत्र १७ र १८ गते गर्ने निर्णय भएको हो।
‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मुल नारा पनि तय गरिएको छ।
केन्द्रीय अध्यक्ष ओमबहादुरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, आवद्ध जातीय संघका केन्द्रीय अध्यक्षहरू, उपत्यकाका जिल्ला अध्यक्षहरू रहेको १०१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ।
महासंघको संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बरामलाई संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय पनि भएको छ।
राम्जी कोङरेन संयोजक तथा जगत बराम र दिनेश थापा मगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको नियमावली २०८० संशोधनसहित पारित पनि भएको छ।
सन्तबहादुर चेपाङको अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्यालको अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र नरजंग दुराको अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय भएको अध्यक्ष घर्तीमगरले बताए।
साथै राम्जी कोङरेन संयोजक, पासाङ शेर्पा र दुर्गा सुनुवार सदस्य रहेको केन्द्रीय अनुशासन समिति गठनसमेत भएको छ।