प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८)मा जलवायु परिवर्तनले नेपालमा गरेको असरबारे आफूले योद्धाको रूपमा प्रस्तुत भएको बताएका छन्।
आइतबार राति दुबईबाट फर्किएका प्रधानमन्त्री प्रचण्डले कोप २८ भ्रमणमा नेपालको प्रशंसा भएको बताए।
आफूहरूले सोचेजस्तै जलवायु परिवर्तनले नेपालमा गरेको असरहरूबारे योद्धाको रूपमा प्रस्तुत भएर आफ्ना कुराहरू राखेको उनले बताए।
‘यो पटक हामी माग्ने जस्तो आए जसरी निरिह भएर प्रस्तुत हुने होइन। हामी आफ्नो अधिकारको निम्ति योद्धाको रूपमा प्रस्तुत हुने भनेको थिएँ मैले, ठ्याक्कै त्यस्तै भयो। र त्यसले सकारात्मक तरंग ल्यायो,’ उनले पत्रकारहरूसँग भने।
यस पटकको कोप २८मा नेपालको लागि विशेष भएको उनको भनाई थियो। धेरैजसो राष्ट्रहरूले नेपालको प्रशंसा गरेको उनले बताए।
‘महासचिव एन्टोनियो गुटेरेसले पनि जलवायु परिवर्तनविरूद्ध लड्ने यो अन्तिम मौका हो भनेकाले पनि यो पटकको कोप २८ पहिलेपहिलेको भन्दा प्रभावकारी, फरक र परिणाममुखी भन्ने सबै राष्ट्रप्रमुखहरूको धारणा थियो,’ उनले भने, ‘पहिलो कुरा हामीले अहिलेसम्म कोपमा पेभेलियन अलग्गै थिएन रैछ। पहिलो पटक नेपालले पेभेलियन प्राप्त गरेर युवाहरू, पत्रकारहरू, सबै विज्ञहरू त्यहाँ केन्द्रित भएर कार्यक्रमहरू लगातार हस्तक्षेप खालको वातावरण भयो यो हाम्रोलागि खुसीको कुरा हो।’
यस्तै महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएकाले नेपालमा भइरहेको जलवायु परिवर्तनका कारण समस्या विश्व समुदायमा पुग्न सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
‘यो सामान्य छैन, यसको प्रभाव विश्वव्यापी भयो। जुन मेरो अध्यक्षता राउन्ड टेबल छलफल भयो, त्यसमा सबैले नेपालको प्रशंसा गर्नुपर्ने स्थिति बन्यो,’ उनले भने, ‘नेपालको नाम उल्लेख नगरी बोल्नै नहुने जस्तो भयो। यो पनि पहिलोचोटी भयो भन्ने हाम्रै कर्मचारीहरूले भने।’
यस्तै नेपाललाई आर्थिक र प्राविधिक सहायता आउनेमा पनि आफू ढुक्क भएको उनले बताए।
पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्रीमण्डल पुनर्गठनबारे हल्लामात्रै चलेको पनि बताए। ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ, को मन्त्री हट्छ, को आउँछ?, गृहमन्त्री हट्ने रे भन्ने चर्चा धेरै भयो। तर हामीले अहिले गठबन्धनभित्र छलफल गरेको छैन, यसबारे सोचिएको छैन। म प्रधानमन्त्री छु, मेरो दिमागमै छैन यो कुरा। त्यसकारण यो सबै हल्ला मात्रै हो,´ उनले भने।
त्यस्तै दुबई जाँदा ३१ जना यात्रुहरू छुटेको घटनाबारे पनि उनले प्रष्टीकरण दिएका छन्।
आफू दुबई पुगेपछि मात्रै त्यसबारे थाहा पाएको र आफूले थाहा पाएको भए छाडेर नजाने पनि उनले बताए।