एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताका समस्या समाधान गर्न संविधान जारी भएपछि बनेका तीनवटै सरकार असफल भएको बताएका छन्।
पार्टी सचिवालयको ६९ औं बैठकपछि बोल्दै नेता खनालले यसअघिका एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार मात्र होइन मौजुदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनताको समस्या सम्बोधन गर्न नसकेको निष्कर्ष सुनाएका हुन्।
‘संविधानपछि बनेका तीनवटा सरकारले जनताका आवाजहरूलाई सुनेनन्। जनताका समस्याहरूलाई सम्बोधन गरेनन्। त्यसकारण राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, राष्ट्रियताका विभिन्न क्षेत्रमा संकटहरू मडारिइरहेका छन्। यो संकट मडारिइरहेको बेला पुनरूत्थानवादीहरूले धमिलो पानीमा माछा मान सकिन्छ कि भनेर जालसाल थापिरहेका छन्। व्यवस्था बदलियो अवस्था बदलियो भन्ने जनताको गुनासो ठीक हो। अवस्था बदल्न यो तीनवटा सरकारले सकेन। ओली, देउवाको सरकारले पनि सकेन, प्रचण्डको सरकारले पनि सकेन।’
उनले त्यसकारण नयाँ ढंगले जानुपर्छ भनेर सचिवालय बैठकमा छलफल भएको बताए।
‘अब हाम्रो पार्टी अगाडि बढ्दै छ,’ उनले भने।
उनले नयाँ ढंगले अगाडि बढ्ने भनेको क्रान्तिकारी ढंगले अघि बढ्ने पनि बताए।
‘नयाँ ढंगले भनेको क्रान्तिकारी ढंगले, जनताको आवाज उठाउने ढडंगले आजका सामाजिक, राजनीतिक, आर्थिक समस्याका कारण पत्ता लगाउने ढंगले जाने हो,’ उनले भने।
आजको बैठकमा पहिलो महाधिवेशन सार्नेबारे छलफल सुरू भएको तर निष्कर्षमा पुगिनसकेको बताए।
एकीकृत समाजवादीको सचिवालय बैठक भोलि ११ बजे पनि बस्ने उनले बताए।