राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्रीहरूको कामको बाँडफाँट गरेको छ। सहमहामन्त्रीत्रय कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई काम बाँडफाँट गरेको हो।
पार्टी विधानको धारा २६ (४) अनुसार तपसिल बमोजिम जिम्मेवारी तोकिएको व्यहोरा जानकारी गराइन्छ। महामन्त्री मुकुल ढकालले कामको क्षेत्र छुट्याएका हुन्।
यद्यपि रास्वपाको विधानमा दुई जनामात्रै सहमहामन्त्री रहने व्यवस्था छ।
कविन्द्र बुर्लाकोटीलाई ८ वटा काम तोकिएको छ।
पार्टी संगठनलाई चुस्त, क्रियाशील र प्रभावकारी बनाउन नेतृत्व गर्ने, पार्टीका समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूलाई पार्टी सम्बन्धी गतिविधि र आवश्यकता अनुसार अन्य सूचना प्रवाहित गर्न निर्णयको जानकारी गराउन तथा निर्देशन जारी गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने जिम्मा दिइएको छ। त्यस्तै केन्द्रीय समिति एवं पार्टी सचिवालयका बैठकहरुको निर्णय पुस्तिका तयार गर्न तथा पारित नीति निर्णयहरु कार्यान्वयन गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने, दैनिक कार्यसञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने, तोकिएको छ। पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने, महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने बताइएको छ।
आफूले गरेका काम कारवाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रुपमा रिपोर्टिङ गर्ने र महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिने नयाँ तोकिएको काममा उल्लेख छ।
सांसदसमेत रहेकी सुमना श्रेष्ठलाई ६ वटा काम तोकिएको छ। ज्समा पार्टीका समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूबाट सदनमा आवाज उठाउनका लागि अनुरोध गरिएका विषय÷मुद्दाहरू अध्ययन गरी पार्टीका सांसदहरूद्वारा सदनमा प्रस्तुत गर्न आवश्यक सहजीकरण तथा समन्वय गर्ने भनिएको छ।
पार्टीको संसदीय दलको संस्थागत विकासका लागि आवश्यक नीति तथा योजना निर्माण र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने जिम्मा दिइएको छ।
पार्टीको नीति, विचार तथा कार्यक्रम अनुरुप सांसदहरुको प्रस्तुतिमा एकरुपता कायम गर्न आवश्यक भूमिका निभाउने, महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने, आफुले गरेका काम कारवाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रूपमा रिपोर्टिङ गर्ने र महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिने उल्लेख छ।
विपिनकुमार आचार्यलाई १० वटा काम दिइएको छ।
पार्टीको छवि निर्माणका लागि विभिन्न रचनात्मक, अभियानमूलक योजना तथा कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्न भनिएको छ।
पार्टीका प्रचारप्रसारसँग सम्बन्धित सूचना प्रविधिमा आधारित माध्यमहरू (वेबसाइट, मोबाइल एप आदि), सामाजिक सञ्जालहरु (फेसबुक, ट्वीटर, युट्युब आदि) लगायतलाई पार्टीको हितमा योगदान पुर्याउने गरी प्रभावकारी परिचालन गर्न आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने जिम्मा पनि उनलाई दिइएको छ।
विभिन्न माध्यमहरूबाट प्राप्त जनचासो, सल्लाह, सुझाव वा प्रतिक्रियालाई आवश्यकता अनुसार सम्बोधन गर्ने लगायतका जिम्मेवारी उनलाई दिइएको छ।