नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरबको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन्।
ओलीले मंगलबार बिहान आयोजनाको अवलोकन गरेका हुन्। अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए।
काममा केही ढिलाइ भएको बताउँदै उनले छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।
प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ उनले ध्यानाकर्षण गराएका हुन्।
अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरेका थिए।
‘यो आयोजना कोभिडले गर्दा पनि ढिला भयो। तर त्योभन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ,’ उनले भने, ‘यसलाई गति दिनुपर्छ, जे होस् काम भइरहेको छ यो सम्पन्न हुन्छ।’
उनले कामको गुणस्तरमा 'कम्परमाइज' गर्न नमिल्ने बताए। भेरी-बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ।