उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसंघका सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
सम्मेलनका अवसरमा आज संयुक्त राष्ट्रसंघ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरे।
भेटमा उपमहासचिव खरेलले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिए।
भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गरे। साथै यसका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिए।
आजै संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गरे। त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदर स्वरुप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिशनहरुमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे।
भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रुपमा नेपालले उठाएको स्मरण गराए।
उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअल, भारतका रक्षा राज्यमन्त्री अजय भट्ट लगायतले पनि भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी दिएको छ।