तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको छ।
२०६० सालमा माओवादी र सेनाबीच दोहोरो भिडन्त भएको थियो। उक्त पोल मदन पुरस्कार पुस्तकालयले २०६७* सालमा ललितपुर ल्याएको थियो।
पाटनढोकामा रहेको यलमाया केन्द्रमा पोल राखिएको थियो। शान्ति प्रक्रिया सुरू भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन स्थानीयले माग गरिरहेका थिए।
मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राख्न पोल पठाउन लागिएको बताए। ‘गोली लागेर छिया छिया भएको बिजुली पोल सुरक्षित रूपमा राख्ने गरी बेनी पठाउन लागेको हो,’ उनले भने।
उक्त पोल शान्ति पार्कमा सुरक्षित र प्रदर्शनका लागि राख्नसमेत दीक्षितले आग्रह गरेका छन्। यसबारे उनले जिल्ला समन्वय समिति म्याग्दीलाई लेखेको पत्रमा 'सशस्त्र द्वन्दले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उदेश्यका लागि' पोल सुरक्षित राख्न भनिएको छ।
उनले पोल पाटनढोका परिसरबाट बेनी बजार लैजाने व्यवस्था मिलाउन पनि पत्रमा आग्रह गरेका थिए। म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दै आएका थिए।
२०६० साल चैत ७ गते बेनी बजारमा माओवादीले आक्रमण गर्दा धेरै क्षति भएको वडा नम्बर ७ मा शान्ति पार्क बनाउने तयारी छ। सो पार्कमा पोल सुरक्षित राख्ने निर्णय भएपछि पुस्तकालयले पोल बेनी नै फिर्ता गर्न लागेको हो।
म्याग्दीको बेनीमा २०६० सालमा माओवादी र सरकारी सुरक्षाकर्मीबीच दोहोरो भीडन्त हुँदा पोलमा लागेको गोली। सोही पोल मदन पुरस्कार पुस्तकालयले २०६३ सालमा ल्याएर पाटन ढोकास्थित यलमाया केन्द्रमा राखेका थिए। तस्बिर स्रोतः म्याग्दीकाली अनलाइन
बेनी नगरपालिकाका मेयर सुरत केसीले गोली लागेर छिया छिया भएको पोल बेनीमै फिर्ता ल्याउने निर्णय गरेका थिए। ०७९ वैशाखमा मेयर जितेपछि उनले पोल बेनी फिर्ता ल्याउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए।
सेतोपाटीसँग कुराकानी गर्दै मेयर केसीले बिहीबार साँझसम्म पोल बेनी बजार पुर्याइने बताए।
‘लामो पहलपछि म्याग्दीको पोल फिर्ता पाउने भएका छौं। यो पोललाई शान्ति पार्कमा राखेर आन्तरिक पर्यटन प्रबर्द्धन गर्नेछौं,’ उनले भने। बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १२ घण्टासम्म भिडन्त भएको थियो। सोही भिडन्तमा बिजुलीको पोलमा गोली लागेर छिया छिया परेको थियो।
भिडन्तमा एक सय जनाभन्दा बढी माओवादी, ५० जनाभन्दा बढी राज्यका सुरक्षाकर्मी तथा १९ जना सर्वसाधरणको मृत्यु भएको थियो।
*सच्याइएको।