प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन्।
बिहीबार आयोजित 'रेस्पोन्सिबल बिजनेस समिट' मा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिएको बताए। तर जनतामा आशाको सञ्चार नदेखिएको उनको भनाइ थियो।
अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने उनले बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको भनाइ छ।
‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणा गर्नै पर्ने देखिएको छ,’ उनले भने। प्रधानमन्त्री दाहालले व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभूति गराउनु पर्ने बताए। अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको उनले बताए। ‘नकारात्मकभन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउन सके नेपालमा प्रचुर सम्भावना छ,’ उनले भने।
अर्थतन्त्र सुधारको लागि सरकारले आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको उनले बताए। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रम अगाडि सारिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र नभएर सरकार र राज्यका सबै निकाय जिम्मेवार बन्न आवश्यक रहेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)