नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार गैरजिम्मेवार भएर बसेको बताएका छन्।
अहिलेको सरकारले देशको इज्जत समाप्त पार्ने काम गरेको उनले आरोप लगाए। बागलुङमा बिहीबार भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए।
‘अहिलेको सरकारमा इमान भए राजीनामा दिएर निस्कनुपर्थ्यो,’ ओलीले भने, ‘यो लज्जाबोध नभएको सरकार हो। यसले राष्ट्रघाती काम गर्छ। यो सरकारले राष्ट्रिय हितको रक्षा गर्न सक्दैन। आफ्नो भूमिबारे बोल्न सक्दैन।’
एमालेका पालामा भएका विकासका कामहरू अहिले ठप्प रहेको ओलीले बताए। ‘विकासका कामहरू जुन एमालेको समयमा भएका थिए। ती सबै विकासका काम अहिले ठप्प छन्,’ अध्यक्ष ओलीले भने, ‘तैपनि सरकार चलिरहेको छ। सरकार हौं भनेर बसिरहेको छ। चल्न त के चल्नु र बसिरहेको छ।’
अहिले अर्थतन्त्र ध्वस्त भएको छ र महँगी बढेको ओलीले बताए। युवा पलायन भइरहेको र देश कमजोर हुँदै गएको ओलीले बताए।
‘बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ। अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो,’ उनले भने, ‘यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने हो।’
(न्युज एजेन्सी नेपाल)