नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाँसबारी छाला उद्योग र जनकपुर चुरोट कारखाना बेचिएपनि त्यहाँको माटोको दुरूपयोग नभएको बताएका छन्।
नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बाँसबारीको छाला जुत्ता उद्योग बेचेर त्यहाँ अहिले गंगालाल हृदय केन्द्र खोलिएको बताउँदै माटोको दुरूपयोग नभएको बताएका हुन्।
कांग्रेसले लिएको निर्णयले बाँसबारी छाला जुत्ता उद्योग बन्द भएपनि हजारौं छाला जुत्ता उद्योग खुलेको बताए।
‘कांग्रेसको नीतिले हजारौं छाला जुत्ता उद्योग खुलेका छन्, त्यसको स्वाबासी पाउन नपर्ने, खाली छाला जुत्ता उद्योग बेच्यो भनेर गाली खानुपर्ने?’ उनले भने।
कांग्रेसले ल्याएको नीतिपछि हजारौंको संख्यामा खुलेका उद्योगहरूमा लाखौंले रोजगारी पाइरहेको र करोडौंको संख्यामा जुत्ता उत्पादन भइरहेको महामन्त्री शर्माले बताए।
उनले जुत्ता बनाउने काम सरकारको नभएको पनि बताए। ‘सरकारको काम गाउँमा जाने बाटो बनाउने हो, त्यो बाटोमा हिँड्नेको खुट्टामा लगाउने जुत्ता बनाउने काम निजी क्षेत्रको हो,’ उनले भने।
०४६ सालको परिवर्तनपछि चुरोट कारखाना कांग्रेसकै कारण डुब्यो भन्ने कुरालाई आफू सहर्ष स्वीकार गर्ने महामन्त्री शर्माले बताए।
‘चुरोट फ्याक्ट्री डुब्यो कि उठ्यो भन्ने कुरामा चिन्ता गर्ने होइन। चुरोट खाएर मान्छेको डढेको कलेजोको भएको क्यान्सरको उपचार गर्ने अस्पताल भरतपुरमा कसले बनायो ? त्यो ध्यान दिने कुरा हो,’ उनले भने।