प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग जानकारी लिने भएको छ।
शुक्रबार बसेको समितिको बैठकले मंसिर २५ गते प्रधानमन्त्री दाहाललाई बैठकमा बोलाएर एनसेलको सेयर खरिद-बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो।
समितिका सभापति रामहरि खतिवडाका अनुसार एनसेल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा प्रधानमन्त्री दाहालसँग जानकारी लिने निर्णय भएको छ।
समितिले प्रधान सेनापतिलाई मंसिर २७ गते काठमाडौं–तराई-मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिन बोलाउने निर्णयसमेत गरेको छ।
सभापति खतिवडाले नियमित रूपमा बैठक बसेर विधेयकहरूमाथि छलफल गर्नुपर्ने पनि बताए। उनले सांसदहरूलाई बैठकमा उपस्थित हुन पनि आग्रह गरेका छन्।
(न्युज एजेन्सी नेपाल)